Home Blog

हिंसात्मक गतिविधि नगर्न मानवअधिकार आयोगको अपिल

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अनुगमनका क्रममा काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको आयोगले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रदर्शनकारीहरु तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भएको आयोगको भनाइ छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ ।

गम्भीर प्रकृतिका ६७ जना बिरामीको उपचारमा गाउँपालिकाको सहयोग

अर्घाखाँची– छत्रदेव गाउँपालिकाले उपचारका लागि सिफारिस माग गर्दा फोटोसहितको निवेदन अनिवार्य पेस गर्न अनुरोध गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै विपन्न नागरिकले उपचारमा सहयोगका लागि पालिकासँग सिफारिस माग गर्दा ३ वटा फोटोसहित निवेदन पेश गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार गाउँपालिकाले उपचारका लागि सिफारिस दिएका नागरिकको विवरण  प्रत्येक महिना सूचना पाटीमा सार्वजनिक गर्न निर्देशन दिएकाले फोटोसहित निवेदन पेश गर्न अनुरोध गरेको हो ।

विपन्न बिरामीलाई नियमित स्वास्थ्य उपचारका लागि गाउँपालिकाले सिफारिस दिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखाका बुद्धिराम न्यौपानेले बताए । मृगौला, क्यान्सर, मुटु राेग, अल्जाइमरलगायतका बिरामीलाई सिफारिस गर्ने गरेको उनले पालिकाखबरलाई जानकारी दिए ।  गाउँपालिकाभित्रका मृगौला प्रत्यारोपनका बिरामीलाई ४ लाख रुपैयाँ र अन्य बिरामीको हकमा १/१ लाख रुपैयाँसम्म सिफारिस गर्ने गरेको उनले सुनाए ।

बिरामीको सिफारिस गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखसहितको तीन सदस्यीय समितिको निर्णयबाट हुने गरेको उनले बताए । गाउँपालिकाले ६७ जना बिरामीलाई औषधि उपचारका लागि सिफारिस गरिसकेको उनले जानकारी दिए ।पछिल्लो समय पालिकामा क्यान्सरका बिरामी बढिरहेका छन् । हाल गाउँपालिकामा ४५ जनामा क्यान्सर पुष्टी भएको र उनीहरुको उपचारमा गाउँपालिकाले सहयोग गरिरहेको उनले बताए ।

खाजा खान जाने महिलालाई सेनेटरी प्याड उपहार

तनहुँ- आँबुखैरेनीमा संचालित द मट्का हाउसले खाजा खाने महिलाहरुलाई उपहारमा सेनेटरी प्याड  प्रदान गरेको छ ।

अन्तराष्ट्रिय महिला दिवसका दिन मट्का हाउसमा खाजा खान आउने महिला ग्राहकलाई लागि सेनेटरी प्याडको व्यवस्था गरिएको संचालक आकाश शेरचनले जानकारी दिए । सबै महिलाहरूको महिनावारी स्वास्थ्यको लागि यो स्किम ल्याइएको उनले बताए । यहाँ फरक स्वादमा थरीथरीको चिया लगायत विभिन्न स्वादिष्ट परिकारको खाजा व्यवस्था रहेको उनको भनाइ छ ।

गोलबजार पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको पहिलो पालिका

सिराहा । सिरहाको गोलबजार नगरपालिका १५ महिना मुनिका बालबालिकाहरूले पूर्ण खोप पाएको पहिलो सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो पालिका बनेको छ । आफ्नो पालिकाभित्र १५ महिनाभित्रका ९९ प्रतिशत बालबालिकाले लाउनुपर्ने सम्पूर्ण खोप समयमै लगाएको भन्दै आइतबार एक समारोहबिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय सिराहाका प्रमुख कृष्णदेव यादवले बताए । उनले गोलबजार नगरपालिकाले सबै इण्डिकेटरहरु पुरा गर्दै आफ्नो पालिकालाई जिल्लामै पहिलो पालिकाको रूपमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गर्न सफल भएकोमा शुभकामना व्यक्त गरे ।

प्रमुख यादवले भने, ‘जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सबैभन्दा महत्त्वपूर्ण भूमिकामा रहनुभएको स्वास्थ्य स्वयंसेवकको अहोरात्रको प्रयासबाट ‘पूर्ण खोप पाएको पहिलो सुनिश्चितता तथा दिगोपना पालिका घोषणा’ गर्न सफल भएको हो ।’ प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपाध्याय दिलीपकुमार लामाले जिल्लामै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ ले नगरको इज्जत बढाएको भन्दै यसमा लाग्ने सम्पूर्ण स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई बधाई दिए ।

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रम गोलबजार स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले पालिकाले प्रत्येक महिनाको २२ देखि २६ गते सम्म खोप सेवा उपलब्ध गराउँदै आएको बताए । उनले तोकिएको दिन बिदै भए पनि खोप सेवा भने नरोकिने बताए । प्रमुख कर्णका अनुसार पालिकाका १३ वडाको ६५ खोप केन्द्रबाट नियमित खोप सञ्चालन हुँदै आएको जानकारी दिए । उनले ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ पहिला घर घरमा गएर खोप लगाए नलगाएको सुनिश्चितता गरिएको बताए । त्यस क्रममा १६ महिना देखि पाँच वर्ष मुनिका तीन सय ३६ खोप नलगाएको बालबालिकाहरु फेला परेको र तीसमध्ये एक सय २१ जनालाई खोप लाउने काम पनि भएको जानकारी दिए ।

उनले सम्पूर्ण जनप्रतिनिधि र स्वास्थ्यकर्मीको प्रयासमा आजको दिनसम्म पुग्न सफल भएको बताए ।

‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रममा वडा अध्यक्षहरूको तर्फबाट प्रवक्तासमेत रहेका वडा नम्बर ६ का अध्यक्ष संजितलामा, स्वास्थ्य चौकी प्रमुखहरूको तर्फबाट शत्रुधन साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । नगर प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका पवन पञ्जियारले गरेका थिए। आजै जिल्ला खोप समन्वय समितिको सचिवालयले नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाण पत्र प्रदान गरेको छ ।

थारु खानपान र रिति संस्कृति : पहिचान

कैलालीको ।। कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले थारु समुदाय आर्थिक रुपमा कम्जोर भएपनि रिति, कला संस्कृतिक रुपमा धनी रहेको बताए । उनले भने, ‘थारु समुदायमा हरेक महिनामा गाउने गीतबाँस छ। भोजविवामा गाउने आफनै मौलिक गीतबाँस छ। धेरै किसिमका चाड पर्व छ, भेषभुषा, पहिरन, गरगहना छ । त्यो हाम्रो पहिचान हो ।
थारु समुदायमा हरेक बर्षको माघ महिनामा चुनिने भल्मन्सा प्रथालाई कानूनी मान्यता दिनका लागि हामी तयार छौँँ ‘गाउँपालिकामा दर्ता भएको भल्मन्सा ऐनलाई संशोधन गर्दै भल्मन्साको हकअधिकार सुनिश्चित गर्न तयार छौं । भल्मन्सा बलियो भए मात्र गाउँ समाजको विकास गर्न सक्छन ।’ भल्मन्सा गाउँको साझा व्यक्ति भएकोले गाउँसमाजको विकास निस्वार्थ भावानाबाट सेवा प्रदान गर्न उनले आग्रह गरे ।

एनपिएल मा जनकपुरको विजयी सुरुवात

काठमाडौं । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि लाहिरुले सर्वाधिक ७५ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका लाहिरुले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । तेस्रो विकेटका लागि लाहिरुले हर्ष ठाकरसँग मिलेर १ सय १६ रनको नट आउट साझेदारी गरे । ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए ।

त्यसअघि जनकपुरले पहिलो ओभरमा नै ओपनर आसिफ शेखलाई पहिलो विकेट रुपमा गुमायो। अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा आउट भए । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिसीको बलमा बोल्ड आउट भए । पहिलो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोली आउट भएका हुन् । आसिफलाई क्रिस सोलले बोल्ड आउट गराएका हुन् ।

विराटनगरका लागि क्रिस र प्रतिसले समान १ विकेट लिए । त्ससअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो ।

विराटनगरका ओपनर मार्टिन गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए ।गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी ठाकरको बलमा अनिल शाहबाट समातिए ।अकिब इल्यासले १८ बलमा १५ रन जोडे । एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका लागि ललितनारायण राजवंशीले एनपिएलको आफ्नो पहिलो बलमा पहिलोसहित ३ विकेट लिए । किशोर महतो र ठाकरले समान २ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले समान १ विकेट लिए ।

उप निर्वाचनका कारण एनपिएलमा आइतवार खेल हुनेछैन । सोमवार हुने दुई खेलको पहिलो खेल काठमाडौं गुर्खाज र चितवन राइनोज तथा दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।

नौमती बाजा सिकाउदै तामाकोसी

दोलखा ।। तामाकोसी गाउँपालिका, सामाजिक विकास शाखाको आयोजनामा महिलाहरुलाई नौमती बाजा बजाउने तालिमको उद्घाटन भएको छ । गत फागुन १५ गते तामाकोसी गाउँपालिका वडा नं. ५ मा सुरु गरिएको सो तालिम १० दिन सम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।
यो तालिमका लागि एक दर्जन महिला नौमती बाजा बजाउने तालिममा उत्सुकतापूर्वक सहभागि हुनुहुन्छ । गृहणी भएर घरायसी काममा मात्रै सीमित महिलाले समयको व्यवस्थापन गर्दै बाजा सिक्न थाले पछि यसले नयाँ सन्देश पनि प्रवाह गरेको छ ।
नेपाली मौलिक बाजाहरु क्रमश लोप हुने जोखिमकाबीच तामाकोसीकोे यो प्रयासलाई पालिकाकावासीहरुले अत्यन्तै सान्दर्भिक भएको बताएका छन् ।
विभिन्न पर्व तथा अवसरहरुमा बाजाको माग भएपनि त्यसको तुलनामा बजाउनेहरुको संख्या घटिरहेको देखिन्छ । उक्त तालिममा सहभागिहरुले बाजा कुनै समुदाय र जातभात विशेषको नभएर सँस्कृति र कलासँग सम्बन्धित भएको तथा यस आम्दानी पनि हुने भन्दै सकारात्मक बन्न सबैसँग आग्रह गर्नुभयो ।

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो ।  धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रधानमन्त्री आधुनिकीरण परियोजना एकाइ कार्यालय कञ्चनपुरसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मेसिनद्वारा धान रोपाइँ गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ । “पहिलोपटक आधुनिक मेसिनको प्रयोग गरी धान रोपाइँ गर्न लागेका छौँ”, अध्यक्ष ऐरले भने, “पन्तनगरको सर्जु ५२ जातको धानको बीउ प्लाष्टिको ट्रेमा तयार गरेका छौँ  मेसिनद्वारा धान रोपाइँ गर्ने किसानलाई धानको बीउसँगै पाँचवटा पावरटिलर, पाँचवटा मिनीटिलर, विषादी, जिङ्क, जाइम, पोषकतत्व, चारवटा रिपर, चारवटा हिलेचक्कालगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उनले बताए ।

परियोजनाअन्तर्गत रु १२ लाख र सहकारीको रु १२ लाख गरी रु २४ लाख रकममा लागत साझेदारी गरिएको छ । स्थानीय किसान केशव जोशीले नौलो अनुभवसहित मेसिनद्वारा धान रोपाइँ गर्ने कार्य गर्न लागेको बताउनुभयो । “मेसिनले धान रोपाइँ गर्दा लागत खर्चमा निकै कमी आउने अपेक्षा गरेका छौँ”, उनले भने, “धान रोपाइँका लागि रोपाहा खोज्ने झन्झट हुँदैन, सहज रूपमा धान रोपाइँ गरी उत्पादनमा वृद्धि हुने विश्वास छ ।” बीउ तयार गर्न भने केही मेहनत गर्नुपरेको उनले उल्लेख गरे । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले नगरपालिका क्षेत्रमै पहिलोपटक मेसिनको सहायताले धान रोपाइँ हुन लागेको बताए । “किसानले आधुनिक तरिकाले धानखेती गरे उत्पादन बढ्ने निश्चित छ”, उनले भने, “धानखेतीमा लाग्दै आएको लागत खर्च घट्ने भएकाले किसानलाई फाइदा पुग्छ ।”

सियारीका दर्जनबढी अव्यवस्थित बसोबासीलाई लालपुर्जा

रुपन्देहीको ।। जिल्लाको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का दर्जन बढी अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवम् सियारी गाउँपालिका रुपन्देहीको समन्वयमा एक कार्यक्रमकाबीच स्थानीयलाई पुर्जा हस्तान्तरण गरिएको हो ।
उक्त पुर्जा वितरण कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफूहरु निर्वाचनमा होमिँदा गरेको वाचामध्येको पुर्जा वितरण कार्य सुरु गर्न पाएकोमा खुसी लागेको बताए ।
उनले आगामी दिनमा थप स्थानीयलाई आवश्यकता र मिल्ने आधारमा लालपुर्जा दिने कामका लागि लागिपर्ने बताए । निर्वाचित भएको ६ महिना बितिसकेपछि भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको थियो ।

हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई भैंसी

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई भैंसी वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट नगरका ५० किसानलाई एक–एक वटाका दरले भैँसी वितरण गरेको हो ।दूधमा आत्मनिर्भर बनाउन भैँसी वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले बताइन् । नगरपालिकाले ८० प्रतिशत अनुदान दिएको छ । किसानले २० प्रतिशत व्यहोर्नु पर्ने राईले सुनाइन् । एउटा भैँसीको एक लाख रुपैयाँको मुल्य निर्धारण गरेर नगरपालिकाले ८० हजार अनुदान दिएको राईले बताइन् ।

‘किसानको जीवनस्तर उकास्दै नगरलाई दूधमा आत्म निर्भर बनाउन भैँसी वितरण गरिएको हो,’ राईले भनिन्, ‘यसमा नगरको ८० प्रतिशत अनुदान र किसानले २० प्रतिशत व्यहोरेका छन् ।’ नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को बजेटबाट पनि ४४ किसानलाई भैँसी वितरण गरेको थियो ।

गत आर्थिक वर्ष दुई वटा भैँसी हुनेलाई एउटा थपेर तीन वटा बनाइएको राईले बताइन् । ‘तीन वटा भैँसी भयो भने दूहुन नटुट्ने रैछ, बाह्रैमास आम्दानी होस् भनेर तीन वटा भैँसी बनाइएको हो,’ उनले भनिन्, ‘यो वर्ष पनि दुई वटा भैँसी हुनेलाई नै दिइएको हो ।’

गत र यो आर्थिक वर्ष दिइएको भैँसीबाट दूध पनि उत्पादन सुरु भएको राईले बताइन् । एउटा भैँसीले प्रतिदिन १०–१५ लिटर दूध दिन थालेको राईको भनाई छ । दूध उत्पादन हुन थालेपछि १०–१५ दिनभित्रै डेरी सञ्चालनको तयारी समेत गरिएको राईले बताइन् ।

डेरी सञ्चालनका लागि किसानलाई तालिममा पठाइएको र उनीहरूमध्ये डेरी सञ्चालनका दुई वटा दरखास्त परेको राईले बताइन् । डेरी सञ्चालनका लागि दश लाख रुपैयाँ बराबरको आवश्यक उपकरण नगरपालिकाले नै उपलब्ध गराउाने छ ।‘उपकरण चाँहि नगरपालिकाकै स्वामित्वमा रहने छ,’ राईले भनिन्, ‘केही कसो गरी डेरी सञ्चालन बन्द भए अर्को व्यक्तिलाई सञ्चालन गर्न दिनका लागि उपकरण नगरपालिकाको स्वामित्वमा राखिएको हो ।’